Friday, July 1, 2016

भविष्यद्रष्टा टफलर रहेनन्

बीबीसी, लन्डन


http://bit.ly/299nO2Y

असार १७, २०७३- सामाजिक, आर्थिक र प्राविधिक परिवर्तनलाई लिएर चर्चित भविष्यवाणी गर्ने कृतिहरूका स्रष्टा एल्भिन टफलरको ८७ वर्षको उमेरमा निधन भएको छ । उनको ‘फयुचर सक’ नामक किताब डेढ करोड प्रति बिक्री भएको छ । पुस्तकले सन् १९६० को दशकमा भएका सामाजिक परिवर्तनका गतिसँग जोडिने मानवीय चिन्ताहरूलाई व्याख्या गरेको थियो ।
टफलरले ‘इन्फरमेसन ओभरलोड’ जस्ता शब्दावलीलाई लोकप्रिय गराए । उनका कृतिहरूकै कारण विश्वका नेता तथा चर्चित व्यापारीहरूले उनको सल्लाह लिने स्थिति बन्यो । उनले इन्टरनेटको उदय र एकात्मक परिवारको अधोनतिबारे भविष्यवाणी गरेका थिए ।
टफलरले लसएन्जलसस्थित घरमा सोमबार राति निद्रामै अन्तिम श्वास फेरेका हुन् । ६० को दशकमा धेरैजसो लेखकहरूले प्राविधिक क्रान्तिसँग जोडेर सामाजिक उथुलपुथुलबारे धेरै लेखे ।
टफलरले चाहिँ कठिन कुराहरूलाई पनि एकदमै सजिलो पारामा व्याख्या गरे । ‘फयुचर सक’ ले ६० को दशकमा सुरु भएको सम्वृद्धिको लहर अनन्तकालसम्म चल्ने घोषणा गरेका थिए । उनले सन् १९८० मा ‘थर्ड वेभ’ लेखे, जसले इमेल, इन्टरएक्टिभ मिडिया, अललाइन च्याट रुम र अन्य डिजिटल विकासबारे प्रक्षेपण गरेका थिए ।
यससँगै उनले सामाजिक एकलकाटेपन, लागूऔषध दुव्यर्सन र एकात्मक परिवारको अधोनति पनि अवश्यम्भावी भनेर औंल्याएका थिए । तर उनका सबै भविष्यवाणीले मूर्तरूप लिइसकेका छैनन् । उनले अन्तरिक्षमा मानिसहरूले बसोबास गर्नेछन्समेत भनेका छन् । उनले २१ औं शताब्दीका अनपढका रूपमा ती मानिसलाई औंल्याएका छन् जो सिक्न, त्यसलाई भत्काउन र फेरि सिक्न सक्दैनन् ।
प्रकाशित: असार १७, २०७३



http://bit.ly/299nO2Y

No comments:

Post a Comment